Saturday, November 7, 2026
Homeसामाचारपश्चिमी वायुको प्रभाव कायमै, तराईमा हुस्सु र पहाड–हिमालमा आंशिक बदली

पश्चिमी वायुको प्रभाव कायमै, तराईमा हुस्सु र पहाड–हिमालमा आंशिक बदली

काठमाडौँ, १८ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आज तराई भू–भागका अधिकांश स्थानमा दिउँसो हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

हाल तराईका अधिकांश स्थान हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साथै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात पनि हुनसक्ने जनाइएको छ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मुख्यतया मौसम सफा रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा भने हुस्सु कायमै रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य र सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । आवश्यक सतर्कता अपनाउन र दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका