काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि बढी बदली रहनेछ। मधेश प्रदेश तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ भने तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।


