काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी क्षेत्रमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै, उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ।
यस्तै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।


