काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यसको प्रभावका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बागमती, कर्णाली र कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने विभागले जनाएको छ। साथै तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै मधेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।


