काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली भएको छ। बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। साथै अन्य पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने बताइएको छ। तराईका केही स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।
आज राति कोशी र बागमती प्रदेशसहित अन्य हिमाली भूभागमा सामान्य बदली रहनेछ। मधेस प्रदेशलगायत बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा तुवाँलो लाग्न सक्ने महाशाखाले जनाएको छ।


