काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कर्णाली प्रदेशसहित गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने कोशी, लुम्बिनी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी पहाडी र तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। साथै, गण्डकी प्रदेशको तराई तथा बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यसैगरी, कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


