काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। तराई भूभागमा भने मौसम मुख्यतः सफा रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु देखिन सक्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ। ती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका केही स्थानमा तुवाँलो लाग्ने अनुमान गरिएको छ। देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भूभागमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।


