काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा मौसम बदली भई ठाउँ–ठाउँमा वर्षा र हिमपात भएको छ। अपराह्न काठमाडौं उपत्यकामा वर्षा भएको छ। मापन अनुसार काठमाडौंमा २.२ मिलिमिटर तथा ललितपुर र भक्तपुरमा समान ४.८ मिलिमिटर वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ, जुन भारी वर्षाको नजिक मानिन्छ। यस्तै रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर वर्षा भएको छ।
बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरामा ३०.२, मनाङमा ३२.४ तथा डोल्पामा ३१ मिलिमिटर वर्षा मापन गरिएको छ, जसलाई मध्यम वर्षाको श्रेणीमा राखिएको छ। साथै नेपालको पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात भएको विभागले जनाएको छ।
वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएको छ। बागमती प्रदेशदेखि पश्चिमका अधिकांश जिल्लामा आज वर्षा भएको र ती जिल्लाका करिब १०० वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिमिटरसम्म वर्षा अभिलेख भएको विभागले जनाएको छ, जसलाई हल्कादेखि मध्यम वर्षाका रूपमा वर्गीकरण गरिएको छ।
मौसमविद् वरुण पौडेलका अनुसार प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको छ भने तराई र कोशी प्रदेशमा तुलनात्मक रूपमा कम वर्षा हुने देखिएको छ। पछिल्लो एक घण्टामा भने गण्डकी र बागमती प्रदेशका केही जिल्लामा वर्षा बढेको उनले बताए।
विभागका अनुसार आज रातिदेखि प्रणाली क्रमशः कमजोर हुँदै जानेछ र मौसम खुल्दै जानेछ। यद्यपि चिसो बढ्ने र केही दिन आंशिक बदली रहने सम्भावना रहेको छ।
आज राति देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ।
भोलि बिहीबार तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् पौडेलले जानकारी दिएका छन्।


