Monday, June 8, 2026
Homeसुन्दर नेपालपर्यटक भन्छन्-‘मानुङकोटको सुन्दरताले लोभ्यायो’ (तस्बिरसहित)

पर्यटक भन्छन्-‘मानुङकोटको सुन्दरताले लोभ्यायो’ (तस्बिरसहित)

तनहुँ । सामाजिक सञ्जालमा देखिएका आकर्षक दृश्यहरूका कारण चर्चित बनेको मानुङकोट यतिबेला आन्तरिक पर्यटकले भरिएको छ। चिसो मौसम सुरु भएसँगै यहाँ दैनिक पर्यटकको संख्या तीव्र रूपमा बढेको छ।

पोखराकी लक्ष्मी कार्कीका अनुसार, “सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, तर आज प्रत्यक्ष आँखाले हेर्दा झनै मनमोहक लाग्यो। यहाँबाट देखिने सूर्योदय र हिमशृङ्खला निकै लोभलाग्दो छन्।” उनी सोमबार बिहान २:०० बजे पोखराबाट गाडी भाडामा लिएर व्यास नगरपालिका–५ स्थित मानुङकोट पुगेकी थिइन्।

त्यसैगरी, काठमाडौँकी लुनिभा श्रेष्ठले पनि मानुङकोटको सुन्दरताले मोहनी लगाउने बताइन्। “पहिला आउन नपाएको भए पनि यसपालि तिहार बिदाको अवसरमा आउन पाइयो, दृश्य साँच्चिकै लोभलाग्दो रहेछ,” उनले भनिन्।

दमौलीका सुदीप गफ्फारका अनुसार हाल मानुङकोटमा पर्यटकको अत्यधिक भीड भएकाले होटलमा पहिल्यै बुकिङ गरेर आउनु उचित हुन्छ।

मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेश सुनामले अहिले पर्यटक सिजन चलिरहेको जनाउँदै भने, “दसैँ–तिहारसँगै यहाँ पर्यटकको चहलपहल बाक्लिएको छ। सूर्योदय, कुहिरो र सूर्यास्तका दृश्यले आगन्तुकलाई आकर्षित गर्छ।” उनका अनुसार रेष्टुराँमा प्रतिव्यक्ति रू. १,२०० मा बास, खाना र बिहानको नास्ताको सुविधा दिइन्छ र दैनिक करिब ७० जना बस्ने क्षमता छ।

महाशाखाको तथ्याङ्क अनुसार हाल दैनिक एक हजारभन्दा बढी पर्यटक मानुङकोट पुग्ने गरेका छन्, सोमबार मात्र करिब दुई हजारले दृश्यावलोकन गरेका थिए।

पर्यटकको संख्या बढेसँगै मानुङकोटमा होटल व्यवसाय पनि फस्टाएको छ। विगतमा होटल नदेखिने यस क्षेत्रमा अहिले करिब एक दर्जन होटल सञ्चालनमा आएका छन्। व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गरी सुरक्षाका लागि रेलिङ र पैदल मार्गसमेत तयार गरेको छ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ। दमौली बजार वरिपरि देखा पर्ने कुहिरोलाई धार्मिक किंवदन्तीसँग पनि जोडिएको छ — भनिन्छ, महर्षि वेद व्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्न लोकले नदेखोस् भनेर कुहिरो उत्पन्न गराएका थिए।

पर्यटक बढेसँगै यहाँका धेरै स्थानीय पुनः गाउँ फर्केर व्यवसाय गर्न थालेका छन्। विगतमा खानेपानीको अभावका कारण गाउँ छाडेकाहरू अहिले बजारको जार र ट्यांकरको पानी प्रयोग गर्दै बसोबास पुनः सुरु गरेका छन्।

मानुङकोट पुग्ने सडक कालोपत्र भइसकेको छ। सहरी विकास मन्त्रालयको लगानीमा अलैँचीदेखि मानुङकोटसम्म ४,३०० मिटर सडक कालोपत्र गरिएको छ भने कठिन भागमा १८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिकाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका