सोलुखुम्बु । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरो मात्र थियो। हामीले हेर्ने आकाश पनि हरायो,’ ओखलढुङ्गाका डेनिस मगरले यसरी आफ्नो अनुभव सुनाए।
सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दुधकुण्ड पुग्ने क्रममा मगरसहितको टोली करिब १० घण्टा बेपत्ता भएको थियो। गत सोमबार सल्लेरीबाट हिँडेका उनीहरू सोलुदुधकुण्ड नगरपालिका–१ को कामोडाँडा क्षेत्र पार गर्दै दुधकुण्डतर्फ लागेका थिए। तर दोबाटोमा पुगेपछि गलत दिशातर्फ हिँड्दा उनीहरू भिरको टुप्पोमै पुगेर बाटो हराए र मोबाइल सिग्नल पनि नआएपछि सम्पर्क विच्छेद भयो।
स्थानीय होटल व्यवसायी मिलन कार्कीका अनुसार, ‘साङ्केतिक बोर्ड र दिशानिर्देशको अभावले पर्यटकले गलत बाटो समात्ने समस्या बढ्दो छ।’ भौगोलिक कठिनाइ र कमजोर सञ्जालका कारण खोज तथा उद्धारमा पनि कठिनाइ भएको थियो। स्थानीय पर्यटन व्यवसायी र युवाको सहयोगमा उनीहरू करिब १० घण्टापछि उद्धार गर्न सफल भए। पछिल्ला वर्षहरूमा दुधकुण्ड क्षेत्रमा पर्यटकहरू हराउने घटना सामान्य जस्तै बन्दै गएको स्थानीयहरू बताउँछन्।
तीन हजार ८६० मिटर उचाइमा अवस्थित कामोडाँडा यस्ता घटनाको केन्द्रबिन्दु बनेको छ। यहीँबाट बायाँतर्फ मोडिने बाटो दुधकुण्ड पुग्ने मुख्य मार्ग हो, तर धेरै स्वदेशी र विदेशी पर्यटक त्यस मोडबारे जानकारी नपाएर लुक्लातर्फ उकालो लाग्ने गर्छन्। त्यसपछि उनीहरू घण्टौँसम्म जङ्गल र भिरालो भूभागमा भौतारिन्छन्।
स्थानीय पर्यटन व्यवसायी फुर्वा शेर्पा भन्छन्, ‘पदमार्गमा स्पष्ट सङ्केत छैन। कुन बाटो कहाँ जान्छ भन्ने जानकारी नहुँदा धेरैजसो भ्रमणकर्ता बाटो भुल्छन्।’
दुधकुण्ड क्षेत्र हिमालको फेदमा पर्ने भिरालो भूगोलमा पर्छ, जहाँ टेलिफोन सञ्जाल अत्यन्त कमजोर छ। हिउँ, कुहिरो र हावाका कारण दृश्यता कम हुने भएकाले पर्यटकलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ। स्थानीय मिङ्मार शेर्पाका अनुसार, ‘कसैले हरायो भने तुरुन्त खोजी गर्न सकिँदैन। नेटवर्क नचल्ने ठाउँमा उद्धारका लागि मानिस पैदलै जानुपर्छ।’
धरानका भक्तजन भविस्वर साम्पाङ भन्छन्, ‘हिँड्दा लाग्थ्यो हिमाल बोल्दैछ, तर बाटो देखिँदैन। बाटोमा कुनै जानकारीमूलक बोर्ड छैन।’
नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङले भने, ‘दुधकुण्ड केवल धार्मिक होइन, अन्तरराष्ट्रियस्तरको ट्रेकिङ र अध्यात्मिक केन्द्र बन्न सक्ने सम्भावना बोकेको गन्तव्य हो। तर सम्बन्धित निकायले अझै प्राथमिकता दिएको छैन।’
दुधकुण्डः आस्था र प्रकृतिको संगम
समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित दुधकुण्ड सोलुदुधकुण्ड नगरपालिका–१ मा पर्छ। नुम्बुर हिमाल (६,९५८ मिटर) को फेदमा रहेको यस कुण्डको दूधजस्तो सेतो पानीका कारण यसको नाम ‘दुधकुण्ड’ रहन गएको हो।
हरेक वर्ष जनैपूर्णिमाका अवसरमा हजारौँ भक्तजन यहाँ पुग्छन्। धार्मिक विश्वासअनुसार यो तालमा स्नान गर्दा पाप नाश हुने, मनोकामना पूरा हुने र आत्मा शुद्ध हुने जनविश्वास छ। हिन्दू, बौद्ध र किरात धर्मावलम्बी सबैका लागि यो स्थान पवित्र मानिन्छ।
गत कात्तिक ५ गते सेभेन समिट ट्रेकका इटालियन हर्भ, जर्मन फेलिक्स र पोल्याण्डका आडमले नुम्बुर हिमालको पहिलो सफल आरोहण गरेका थिए। नेपाल पर्यटन बोर्डका अनुसार यस आरोहणले दुधकुण्ड क्षेत्रलाई अन्तरराष्ट्रिय ट्रेकिङ गन्तव्यका रूपमा चिनाउने नयाँ ढोका खोलेको छ।
फुर्वा शेर्पाका अनुसार, ‘नुम्बुर हिमाल, दुधकुण्ड र वरिपरिको ग्रामीण जीवनशैली एकसाथ अनुभव गर्न सकिने गन्तव्य विश्वमै दुर्लभ छ। व्यवस्थित गर्न सकिए सोलुखुम्बु अर्को पवित्र ट्रेकिङ सर्किट बन्न सक्छ।’
पूर्वाधार अभाव र योजनामा ढिलाइ
सोलुदुधकुण्ड नगरपालिकाले केही वर्षअघि पदमार्ग स्तरोन्नतिमा लगानी गरे पनि सूचना–साङ्केतिक प्रणाली, उचाइ जानकारी, सुरक्षा चेकपोस्टजस्ता पूर्वाधार अझै बनेका छैनन्। उपप्रमुख गान्धिमाया तामाङका अनुसार, ‘यस आर्थिक वर्षभित्र दुधकुण्ड पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत सङ्केत बोर्ड र पर्यटन सूचना केन्द्र स्थापना गर्ने योजना अघि बढाइएको छ।’
तर स्थानीय पर्यटन उद्यमीहरूका अनुसार, योजनामा ढिलाइ हुँदा प्रत्यक्ष परिणाम देखिएको छैन।
दुधकुण्ड क्षेत्रले स्थानीय होटल, यातायात, हस्तकला र रोजगारीमा ठुलो योगदान पुर्याउने सम्भावना बोकेको छ। तर असुरक्षित पदमार्ग र सूचना अभावले कतिपय पर्यटक बीचमै फर्किन बाध्य हुने गरेका छन्।
संघ, प्रदेश र स्थानीय सरकारको साझा दृष्टिकोण आवश्यक
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा भन्छन्, ‘दुधकुण्ड सर्किट ट्रेक हिमाल, ताल र संस्कृतिको मिलनस्थल हो। यसको प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय सरकार एउटै दृष्टिकोणमा उभिनुपर्छ।’
स्थायी सङ्केत बोर्ड, आपतकालीन उद्धार केन्द्र र नियमित गाइड तालिम यस क्षेत्रका लागि अत्यावश्यक मानिन्छ। दुधकुण्ड केवल एक ताल होइन — यो आस्थाको प्रतीक, श्रद्धा र पहिचानको हिमाली गन्तव्य हो। यसको संरक्षण र व्यवस्थापन सबैको साझा जिम्मेवारी हो।
यदि समयमै साङ्केतिक प्रणाली, सञ्चार सञ्जाल र सुरक्षा पूर्वाधारमा सुधार गरिए, दुधकुण्ड केवल चुनौतीपूर्ण ट्रेक नभई गौरवशाली धार्मिक–पर्यटन केन्द्र बन्न सक्छ। पर्यटन व्यवसायी आङ फुर्वा शेर्पाको भनाइमा, ‘दुधकुण्ड क्षेत्रको समुचित विकासले सोलुखुम्बुमात्र होइन, देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ।’


