कास्की, १८ असोज – जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पर्यटकलाई आगामी असोज २० गतेसम्म कुनै पनि पदयात्रामा ननिस्कन आग्रह गरेको छ।
प्रशासनका अनुसार देशभर, विशेषगरी गण्डकी प्रदेशमा, मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण भएकाले अन्नपूर्ण आधार शिविर (एबीसी), मर्दी हिमाल आधार शिविर, मोडल–माछापुच्छ्रे ट्रेक, कपुचे, खुमईलगायतका पदमार्गमा हिमपात र विपद्जन्य जोखिम बढेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले भने, “जीउज्यानको सुरक्षालाई प्राथमिकता दिँदै पदयात्रा नगर्न सार्वजनिक सूचना जारी गरिएको हो। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना भएकाले पर्यटकलाई सावधानी अपनाउन आग्रह गरेका छौँ।”
दसैँको बिदामा अन्नपूर्ण क्षेत्रका पदमार्गमा पर्यटकहरूको भीड लाग्ने गरेको भए पनि यस वर्ष प्रशासनको चेतावनीका कारण पर्यटन गतिविधि प्रभावित हुने देखिएको छ। विगतमा यस समयमा पदमार्गका होटल तथा रेष्टुराँ पर्यटकले भरिभराउ हुने गरेका थिए।
त्यसैगरी, प्रशासनले वर्षाका कारण बाढी, पहिरो, डुबान र हिमपातजस्ता विपद्जन्य घटना हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ। साथै, कुनै घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, प्रहरी वा अन्य सुरक्षानिकायलाई तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ।


