Thursday, October 29, 2026
Homeराजनीतिपरिणाममुखी नेतृत्व दिने दाबी गर्दै रास्वपाका वसन्त भट्टको रसुवामा घरदैलो अभियान

परिणाममुखी नेतृत्व दिने दाबी गर्दै रास्वपाका वसन्त भट्टको रसुवामा घरदैलो अभियान

रसुवा। आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट रसुवा जिल्लाको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार वसन्त भट्टले आफ्नो कार्यशैली र परिणाममुखी नेतृत्वबाट रसुवाली जनताको भरोसा जित्ने दाबी गरेका छन्।

चुनावी मैदानमा सक्रिय भट्ट यतिबेला जिल्लाभर घरदैलो अभियानमा जुटेका छन्। उनले यसपटक रसुवाको राजनीतिक वातावरणमा परिवर्तनको स्पष्ट संकेत देखिएको उल्लेख गर्दै जनताको भरोसा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

भट्टले भने, “यसपटक रसुवाली जनताले परिवर्तन खोजिरहेका छन्। म भाषणभन्दा काम र परिणाममा विश्वास गर्छु। रसुवाली जनताको आशाको दियो निभ्न दिने छैन। ठूला सपना बेच्ने होइन, गर्न सकिने कामबाटै परिवर्तन सम्भव हुन्छ।”

लामो समयदेखि समाजसेवामा सक्रिय भट्टले यस निर्वाचनमा पूर्व सांसदसमेत रहेका नेपाली कांग्रेसका मोहन आचार्य र नेकपा एमालेका प्रेम तामाङसँग प्रतिस्पर्धा गरिरहेका छन्। उनले आफ्नो राजनीतिक दृष्टिकोण र प्राथमिकतासमेत स्पष्ट पारेका छन्।

उनका मुख्य एजेन्डामा जिल्लाको दिगो विकास, स्थानीयस्तरमै रोजगारी सिर्जना, भ्रष्ट अभ्यासको अन्त्य, पर्यटन क्षेत्रको पुनर्जागरण, उद्योग र कृषिमा जनताको प्रत्यक्ष सहभागिता, अन्तर्राष्ट्रिय सीमाको व्यवस्थित सञ्चालन तथा जलविद्युत् परियोजनामा स्थानीय स्वामित्व सुनिश्चित गर्नु रहेका छन्।

तामाङ समुदायको बाहुल्यता रहेको रसुवामा घरदैलो अभियानका क्रममा “यसपटकको भोट घण्टीमा” भन्ने सन्देशले जनतामा उत्साह देखिएको भट्टले बताएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका