काठमाडौं। नेपाल पत्रकार महासंघले बुधबार बिहान नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको छ। श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि व्यवस्थापन पक्षबाट कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको महासंघले जनाएको छ।
महासंघले नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा सीईओको कार्यकक्षमा तालाबन्दी गर्दै श्रम ऐनअनुसार सेवा–सुविधा, पारिश्रमिक तथा श्रम सम्झौता कार्यान्वयनको माग गरेको छ।
महासंघका अनुसार लामो समयदेखि संवादको पहल भइरहे पनि व्यवस्थापन पक्षले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनको यो कदम चालिएको हो। उता, नागरिक दैनिकको व्यवस्थापन पक्षले भने नेपाल पत्रकार महासंघको केन्द्रीय समिति तथा नागरिक शाखाका अध्यक्षविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ।
यसअघि पनि काम गरेबापतको पारिश्रमिक माग गरेपछि तीन जना कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको महासंघले जनाएको छ। श्रमजीवी पत्रकारका अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी महासंघले दिएको छ।


