काठमाडौं: पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित हदबन्दी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
बुधबार विशेष अदालतमा नेपाल उपस्थित भएपछि दिउँसोदेखि नै उनको बयान लिइएको थियो। त्यसपछि सरकारी पक्ष र बचाउ पक्षका वकिलहरूले थुनछेक बहस गरेका थिए। बहस सम्पन्न भएपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। उक्त बहसमा नेपालका तर्फबाट पाँच जना र सरकारी पक्षबाट पनि पाँच जना वकिलले सहभागिता जनाएका थिए।
यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँको बिगो माग दाबी गरेको छ।
आरोपपत्रमा उल्लेख भएअनुसार, पतञ्जलि योगपीठको हदबन्दी जग्गा खरिदमा मन्त्रिपरिषद्का निर्णयमार्फत छुट दिई अनियमितता गरिएको दाबी गरिएको छ। सोही प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालमाथि प्रत्यक्ष संलग्नताको आरोप लगाइएको हो।


