काठमाडौँ । पठाओ नेपाल का प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात पदबाट बाहिरिएका छन्।
सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृति स्थापना गरेको मानिन्छ। प्रारम्भिक चरणमा नियामकीय अस्पष्टता, बजारको अविश्वास र पूर्वाधारको अभावजस्ता चुनौतीबीच बस्न्यातको नेतृत्वमा कम्पनीले आफ्नो स्थान मजबुत बनाएको थियो।
उनकै नेतृत्वमा कम्पनीले सेवा विस्तार गर्दै सहरी जीवनशैलीमै परिवर्तन ल्याउने गरी राइड–सेयरिङ प्रयोगलाई लोकप्रिय बनाएको थियो।
हाल पठाओ नेपाल काठमाडौँ उपत्यकासहित देशका सातै प्रदेशमा सञ्चालनमा छ। पछिल्लो समय कम्पनीले बहुआयामिक सेवातर्फ विस्तार गर्दै लामो दूरीको सवारी बुकिङ, सहरबीच आवतजावत, खाना डेलिभरी, देशभर पार्सल सेवा तथा बजार प्लेटफर्मजस्ता सेवा उपलब्ध गराउँदै आएको छ।
कम्पनीले बस्न्यातको योगदानप्रति आभार व्यक्त गर्दै उनको आगामी यात्राका लागि शुभकामना दिएको जनाएको छ।


