काठमाडौँ: अमेरिकाको न्यूयोर्कस्थित नेपाली कन्सुलेट कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारिएको भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्ला अतिरञ्जित भएको पुष्टि भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष महेश कुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट लगायतका नेताहरूले कन्सुलेट कार्यालयको भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री ओलीको फोटो सम्मानपूर्वक सजाइएको जानकारी गराएका छन्।
फेसबुकमा फोटो शेयर गर्दा प्रधानमन्त्रीको तस्वीरमा घाम टल्किएको दृश्य देखिएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणीहरू हुन थालेका थिए। तर, बिष्टले यसलाई सामान्य प्राविधिक कारणले भएको स्पष्ट गर्दै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
“लाइटको कारणले फ्रेममा देखिएको धर्का सामान्य प्राविधिक विषय हो, यसलाई नियतवश भएको भनेर बुझ्नु गलत हो,” उनले फेसबुकमा लेखेका छन्।
नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष संजय थापाले पनि प्रकाश परेर आएको झल्कोले यस्तो दृश्य देखिएको उल्लेख गर्दै, सामाजिक सञ्जालमा संयमित टिप्पणी गर्न आग्रह गरेका छन्।
एनआरएनए आइसीसीका प्रवक्ता गंगाधर गौतमले पनि तस्वीर बिगारिएको भन्ने आरोपमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। “विना आधार भ्रम सिर्जना गर्ने काम नगर्न हामी सबैलाई आग्रह गर्छौं,” उनले भने।
गौतमले गैरआवासीय नेपाली संघले जहिले पनि नेपाल सरकारप्रति सम्मानका साथ सहकार्य गर्दै आएको स्मरण गराउँदै, यस्तो निराधार प्रचारप्रति ध्यान नदिन अपिल गरेका छन्।


