काठमाडौँ: नेपाल भ्रमणमा रहेका न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स र नेपाली परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच आज काठमाडौँमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रतिनिधिमण्डलस्तरको उक्त भेटमा दुई देशका आपसी हितसम्बन्धी विविध विषयमा गहन छलफल भएको थियो। दुवै पक्षले आगामी दिनमा आपसी सहयोगका क्षेत्रमा दिगो साझेदारी विस्तार गर्ने सहमति जनाएका छन्।
भेटपछिको प्रतिक्रिया दिँदै मन्त्री डा. राणाले यसलाई ऐतिहासिक अवसरको संज्ञा दिँदै नेपाल–न्युजिल्यान्ड सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल तत्पर रहेको बताइन्।
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स दुईदिने औपचारिक भ्रमणका लागि आजै काठमाडौँ आइपुगेका हुन्। नेपालको यो उहाँको पहिलो भ्रमण हो।
उपप्रधानमन्त्री पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।


