Sunday, November 8, 2026
Homeसामाचारनौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सास्ती

नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सास्ती

गलकोट (बागलुङ), २ भदौ। नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारीसाधन र यात्रुले दैनिक सास्ती भोगिरहेका छन्। विशेषगरी बिहुँ–घोडाबाधे १३ किलोमिटर सडकखण्डमध्ये ६ किलोमिटर भाग अत्यन्त दुरावस्थामा छ।

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बन्ने यो सडकमा सवारीसाधन फस्ने समस्या दोहोरिँदै आएको छ। बागलुङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरी नौ वर्षअघि ठेक्का लगाइएको थियो। तर, बिहुँ–घोडाबाधे सडकखण्ड अझै अपूरा छन्।

ठेक्का तोडिएपछि पुनः ठेक्का दिइए पनि एक वर्षमा जम्मा १० प्रतिशत मात्रै काम भएको छ। चितवनबाट सामान ल्याउँदै गरेको मिनि ट्रक बिहुँमा फसेको उदाहरण दिँदै चालक रमण शर्माले यो सडकको दुरावस्थाले दैनिक समस्या निम्त्याउने गुनासो गरे।

मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर कल्पना मिश्रका अनुसार नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपालि बढी हिलाम्मे भएको हो। “रु २१ करोडको ठेक्कामा एक वर्षमा १० प्रतिशत मात्र काम भएको छ। अहिले पूर्वाधार निर्माण भइरहेको छ। वर्खामा सवारी फस्न सक्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ,” मिश्रले बताइन्।

अघिल्लो ठेक्का तोडेर २०८१ असार २१ गते तामाङ–रिजाल भगवती जेभीसँग पुनः सम्झौता गरिएको हो। सम्झौताअनुसार दुई वर्षभित्र बाँकी पूर्वाधार र कालोपत्र काम सम्पन्न गर्ने लक्ष्य छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका