काठमाडौं । नर्वेजियन नोबेल इन्स्टिच्युटले नोबेल शान्ति पुरस्कार एक पटक घोषणा भएपछि त्यसलाई फिर्ता लिन, अरूसँग बाँड्न वा कसैलाई हस्तान्तरण गर्न नसकिने स्पष्ट पारेको छ।
संस्थानले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एक पटक नोबेल पुरस्कार घोषणा भएपछि, त्यसलाई फिर्ता लिन, बाँड्न वा अन्य व्यक्तिलाई हस्तान्तरण गर्न सकिँदैन। निर्णय सधैंका लागि मान्य रहन्छ।”
यो स्पष्टोक्ति भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले सोमबार फक्स न्यूजसँगको अन्तर्वार्तामा नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गर्न वा साझा गर्न चाहेको अभिव्यक्ति दिएपछि आएको हो।
विज्ञप्तिमा नर्वेली नोबेल समितिले पुरस्कार विजेताले पुरस्कार पाएपछि गर्ने अभिव्यक्ति वा गतिविधिबारे कुनै टिप्पणी नगर्ने पनि उल्लेख गरिएको छ। समितिको भूमिका कुनै विशेष वर्षका लागि नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गर्ने भन्ने निर्णय नभएसम्म मनोनित उम्मेदवारहरूको काम र प्रयासको मूल्याङ्कन गर्नु मात्र रहेको जनाइएको छ।


