काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभई सिंगो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताएका छन्।
नेपाल सम्वत् ११४६ को आरम्भको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले कात्तिक शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने नेपाल सम्वत्ले सबै नेपालीलाई एकता र समृद्धिको दिशामा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरे।
उनले भने, “यो राष्ट्रिय सम्वत्को नयाँ वर्षले देशवासीहरूलाई राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता सुदृढ गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा एकजुट भई अघि बढ्न प्रेरणा र उत्साह प्रदान गरोस्।”
उपराष्ट्रपति यादवले नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर सा:ख्वालाई उच्च सम्मानका साथ स्मरण गर्दै, उनले किसान र गरिब जनतालाई ऋणमुक्त गरी स्वाभिमानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गरेको योगदान सदा प्रेरणादायी रहिरहने बताए।
नेपालको ‘विविधतामा एकता’ भन्ने मौलिक पहिचानलाई अझ सबल बनाउँदै, सम्पूर्ण नेपालीबीच परस्पर सद्भाव, अपनत्व र एकता अभिवृद्धि हुने विश्वास पनि उनले व्यक्त गरे।


