Monday, June 22, 2026
Homeसामाचारनेपाल विद्युत् प्राधिकरणले फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिने

नेपाल विद्युत् प्राधिकरणले फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिने

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको भीमफेदी–माण्डु र इन्द्रसरोवरको सिस्नेरी क्षेत्रमा निर्माण कार्यलाई अवरोध हुन नदिन वैकल्पिक विद्युत् आपूर्ति गर्ने तयारी गरेको छ।

फास्ट ट्र्याकका संरचना निर्माणका लागि झन्डै १२ मेगावाट विद्युत् आवश्यक पर्नेसमेत प्राधिकरणले जनाएको छ। बाढीपहिरोका कारण हाल विद्युत् आपूर्ति अवरुद्ध भए पनि प्राधिकरणले आपूर्ति सुनिश्चित गर्न कुलेखानी जलविद्युत् केन्द्रको ढोर्सिङ्ग सबस्टेसनबाट वैकल्पिक व्यवस्थाका लागि आवश्यक पहल थालेको छ।

पहिले सञ्चालनमा रहेको ६६ केभी लाइनलाई ११ केभीमा रूपान्तरण गरी कुलेखानीको ढोर्सिङ्ग सबस्टेसनबाट माण्डुसम्म विद्युत् पुर्याउने काम अगाडि बढाइएको छ। यसका लागि २२.५ एमभि क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिनेछ।

ढोर्सिङ्ग सबस्टेसनमा हाल पाँच एमभि क्षमताको ट्रान्सफर्मर पूर्ण भारमा रहेकाले थप विद्युत् प्रवाह गर्न असम्भव भएकाले नयाँ ट्रान्सफर्मर राख्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ।

गत असोजमा आएको बाढीले माण्डु हाइड्रोपावरको २२ मेगावाट क्षमताको बागमतीखोला साना जलविद्युत् आयोजना पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो। बाढीले आयोजनाको स्वीचयार्ड, ट्रान्सफर्मर, र प्रसारण लाइनहरूमा क्षति पुर्याएपछि फास्ट ट्र्याक क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो।

नेपाली सेनाले विद्युत् अभावले निर्माण कार्यमा समस्या भएको जानकारी गराएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले माण्डु क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। टोलीले पुनःनिर्माण भइरहेको बागमतीखोला जलविद्युत् आयोजना र ढोर्सिङ्ग सबस्टेसनको अवलोकन गर्दै तत्काल विद्युत् आपूर्ति गर्ने विभिन्न विकल्पबारे छलफल गरेको थियो।

प्राधिकरणले आयोजना पुनःनिर्माण चैत मसान्तसम्म सक्ने लक्ष्य राखेको छ। पुनःनिर्माणपछि पुरानै संरचनाबाट विद्युत् आपूर्ति पुनर्स्थापित हुने बताइएको छ।

कार्यकारी निर्देशक घिसिङले भने, “राष्ट्रिय गौरवको आयोजनालाई अवरोध हुन दिन सकिँदैन। जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु नभएसम्म वैकल्पिक आपूर्ति सुनिश्चित गरिनुपर्छ। यसका लागि तत्काल काम सुरु गरौँ।”

उपकार्यकारी निर्देशक मनोज सिलवालले स्थानीय स्तरमा लाइन पुनःस्थापनाका लागि आवश्यक काम तीव्रगतिमा अगाडि बढाउन निर्देशन दिनुभएको छ।

प्राधिकरणको यो पहलले द्रुतमार्गको निर्माण कार्यलाई पुनः गतिमा ल्याउने अपेक्षा गरिएको छ। वैकल्पिक आपूर्ति कार्य सम्पन्न भएपछि निर्माण प्रक्रियामा थप सहजता आउने विश्वास गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका