काठमाडौँ, २५ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग निगममा भएको प्रगतिबारे जानकारी लिँदै उक्त निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री कार्कीले निगममा महाप्रबन्धक नियुक्तिका लागि यही कात्तिक १४ गते सचिव मैनालीको संयोजकत्वमा छनोट समिति गठन गर्नुभएको थियो। समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयको योजना तथा प्रशासन महाशाखा प्रमुख सदस्यसचिव रहेका छन्।
सचिव मैनालीले कार्यविधि तयार गर्ने काम भइरहेको र यसबीचमा केही समयका लागि बाहिर जानुपरेको जानकारी प्रधानमन्त्रीलाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


