Saturday, November 7, 2026
Homeसामाचारनेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो : राष्ट्रपति पौडेल

काठमाडौं, ३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ प्रगाढ बनाओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

तिहारको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा शुभकामना सन्देश जारी गर्दै उनले सबैमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिका लागि मंगलकामना गरेका छन्।

राष्ट्रपति पौडेलले भनेका छन्, “नेपाल मौलिक संस्कृतिले भरिएको देश हो। हामीले मनाउने विविध चाडपर्वहरूले देशको विविधतालाई एकताको डोरले बाँध्दै आएका छन्। तिनै पर्वहरूमध्ये तिहार हिन्दूहरूको महान् पर्वका रूपमा रहेको छ, जसले विभिन्न जातजाति, भाषा र संस्कृतिलाई एकताको सूत्रमा जोड्ने महत्वपूर्ण भूमिका खेलेको छ।”

उनले तिहार पर्वलाई सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक तथा वैज्ञानिक दृष्टिले अर्थपूर्ण पर्वको रूपमा व्याख्या गर्दै यसलाई “उज्यालो र प्रकाशको पर्व” पनि बताएका छन्। तिहारका माध्यमबाट प्रकट हुने सांस्कृतिक अभ्यासहरूले मानवीय जीवनमा उज्यालो भरी सबैलाई सत्य, न्याय र सामाजिक सुशासनको मार्गमा प्रेरित गर्न सकोस् भन्ने उनले कामना गरेका छन्।

तिहार पर्वलाई यमपञ्चक पनि भनिन्छ। यस पर्वमा काग, कुकुर, गाई, गोरु आदिको पूजा र सम्मान गरिन्छ, साथै लक्ष्मीपूजाका दिनमा भगवती लक्ष्मीको आराधना गरिन्छ। भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई दीर्घायु र समृद्धिको कामना गर्दै उल्लासपूर्वक पर्व मनाइन्छ।

राष्ट्रपतिले भाइटीका, म्हपूजा र आत्मशुद्धिका परम्परागत चलनहरूले प्रेम, स्नेह, सामाजिक एकता, समृद्धि, धर्म, दया, करुणा र अन्धकारमाथिको प्रकाशको विजयजस्ता सन्देश प्रवाह गरेको उल्लेख गर्दै सबै नेपालीमा शान्ति र समृद्धिको कामना गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका