काठमाडौं । नेपाल निर्माण उद्योग परिषदले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति कडा विरोध जनाएको छ।
शनिबार ओलीको पक्राउ लगत्तै परिषदले विज्ञप्ति जारी गर्दै यस कदमलाई ‘राजनीतिक पूर्वाग्रह’ र ‘प्रतिशोधपूर्ण’ कार्य भएको टिप्पणी गरेको हो। परिषदले ओलीलाई तत्काल विनासर्त रिहा गर्न माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “राजनीतिक पूर्वाग्रह राखी प्रतिशोधपूर्ण भावले गरिएको यो पक्राउ लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिनेहरूमाथिको प्रहार हो।” परिषदले पूर्वप्रधानमन्त्री ओलीको शीघ्र रिहाइको मागसमेत गरेको छ।
परिषदले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत रहेको उल्लेख गर्दै यसको प्रतिकार गर्ने चेतावनी दिएको छ। साथै, नेकपा एमालेले आयोजना गर्ने विरोधका कार्यक्रममा सक्रिय सहभागिता जनाउने स्पष्ट पारेको छ।
यसका साथै परिषदले सम्पूर्ण न्यायप्रेमी नागरिकलाई उक्त कदमको विरोधमा उभिन र अध्यक्ष ओलीको तत्काल रिहाइका लागि आन्दोलित हुन आह्वान गरेको छ।


