काठमाडौं । नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी)बीच पार्टी एकता भएको छ। कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित भएको जानकारी दिइएको हो।
कांग्रेस सभापति गगन थापाले सामाखुसीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस (बीपी)सँग एकता भएको घोषणा गरेका हुन्। सहमतिपत्रमा कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचन र कांग्रेस सभापति थापाले हस्ताक्षर गरेका छन्।
सहमति अनुसार नेपाली कांग्रेस (बीपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा संगठनात्मक निकाय मूल पार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ। परिवर्तन, लोकतन्त्र, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षण र सुदृढीकरणप्रति प्रतिबद्धता जनाउँदै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी एकीकरणको निर्णय गरिएको वक्तव्यमा उल्लेख छ।
साथै, विशेष महाधिवेशनमार्फत अघि सारिएको “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने संकल्पलाई सुदृढ बनाउने उद्देश्यले पनि एकता गरिएको जनाइएको छ। कांग्रेस (बीपी)ले नेपाली कांग्रेसको आदर्श, मूल्य, मान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।
समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्थाहरू नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संगठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने बताइएको छ।
कांग्रेस (बीपी) समाहित भएपछि नेपाली कांग्रेस थप सशक्त भएको नेताहरूको दाबी छ। यसअघि गत पुस १३ गते बसेको कार्यसम्पादन समिति बैठकले विभिन्न कारणले पार्टी परित्याग गरेका नेताहरू तथा कार्यकर्तालाई मूल पार्टीमा फर्किन आह्वान गरेको थियो।



