काठमाडौँ । गत पुसमा भएको विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्र विवाद चरमोत्कर्षमा पुगेको छ।
पुस २७–३० गतेसम्म तत्कालीन सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहबीच असहमतिमा सम्पन्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा द्वारा गरिएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले माघ २ गते आधिकारिकता दिएको थियो। देउवा र डा. कोइरालाको समूहले सर्वोच्च अदालतमा आधिकारिकता चुनौती दिएका छन्, र रिट अझै विचाराधीन छ।
पार्टीमा विवाद यति बढेको छ कि सर्वोच्चले जे निर्णय गरे पनि पार्टी एक रहन सक्ने अवस्था देखिँदैन। तथापि, केही नेताहरू पार्टीलाई एक राख्न प्रयासरत छन्। विशेष महाधिवेशनको बेला देउवा पक्षमा रहेका डा. शेखर पछिल्ला दिनमा मध्यमार्गी भूमिका अपनाएर दुवै समूहलाई मिलाउने प्रयास गरिरहेका छन्।
डा. शेखरले आफ्नो समूहका नेताहरूसँग विशालनगर सचिवालयमा बैठक राखेर पार्टी एकता र वार्ताका रणनीतिहरूमा सुझाव मागेका थिए। बैठकमा निवर्तमान उपसभापति, सहमहामन्त्रीद्वय र १६ केन्द्रीय सदस्य सहभागी थिए।
उक्त बैठकमा डा. शेखरले भनेका थिए, “सर्वोच्चले जे निर्णय गरे पनि पार्टी एक नरहने अवस्था मैले देखिरहेको छु। पार्टीलाई एक राख्न अझै अपमान सहन र त्याग गर्न तयार छु। म मध्यमार्गी धारामा उभिएर एकताका लागि काम गर्छु।”
पूर्वमहामन्त्री डा. शशाङ्क कोइराला लगायत अन्य नेताहरूले पनि पार्टीलाई एक राख्न पहल गर्ने बताएका छन्। बैठकले पार्टी एकताका लागि वार्ताको मध्यस्थता गर्न केही नेताहरूलाई जिम्मेवारी दिएको छ।
नेतृ सरिता प्रसाईंले पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा चार घण्टा छलफल भएको र डा. शेखरले सुझाव मागेर नेताहरूले आफ्नो राय दिएको बताइन्। बैठकको मुख्य उद्देश्य पार्टीलाई विभाजनबाट बचाउँदै एकढिक्का बनाउने उपाय तय गर्नु थियो।


