काठमाडौं:संयुक्त राज्य अमेरिकाको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा निरन्तर रहने भएको छ।
अमेरिकी विदेशमन्त्रीको नेतृत्वमा वैदेशिक सहायतासम्बन्धी समीक्षा भइरहेको सन्दर्भमा, गएको फेब्रुअरीमा लागू गरिएको ९० दिने रोकका बीच एमसिसी नेपाल कम्प्याक्टलाई विशेष अपवाद प्रदान गरिएको हो। यस अपवादसँगै नेपालमा एमसिसी परियोजनाको कार्यान्वयन अवरोधबिना अघि बढ्न स्वीकृति दिइएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ।
दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख अनुसार, समीक्षा अवधिमा समेत एमसिसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवाला निकायहरूसँग सहकार्य तथा संवाद गर्दै परियोजनाको सकारात्मक प्रगति सुनिश्चित गर्न प्रयासरत छन्।
एमसिसीले अर्थ मन्त्रालय र एमसिए–नेपालसँग नजिकको समन्वयमा कम्प्याक्टअन्तर्गतका हालका तथा प्रारम्भिक चरणमा रहेका गतिविधिहरूलाई अमेरिका र नेपाल सरकारको प्राथमिकतासँग मेल खाने गरी अगाडि बढाइरहेको छ। पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापनलाई सुनिश्चित गर्दै परियोजना कार्यान्वयन भइरहेकाे जनाइएको छ।
अन्त्यमा, दूतावासले अमेरिका–नेपाल सम्बन्धप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै, नेपाली जनताको समृद्धि र दीर्घकालीन आर्थिक वृद्धिमा सहयोग पुर्याउने उद्देश्यका साथ एमसिसी परियोजना अघि बढाइने स्पष्ट पारेको छ।


