काठमाडौँ, २३ भदौ- भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास चन्द्रग्रहण लागेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १०:११ बजे सुरु भई ११:५६ मा मध्यावस्था पुगेको र ०१:४१ बजे अन्त्य भएको हो।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले करिब साढे तीन घण्टासम्म काठमाडौँबाट चन्द्रग्रहण अवलोकन गर्न सकिने जानकारी दिनुभयो। ग्रहण नेपालमा पूर्व–आग्नेयबाट सुरु भई नैऋत्य–पश्चिमतर्फ अन्त्य भएको थियो।
पृथ्वीले सूर्यको प्रकाश पूर्ण रूपमा रोक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हुने समितिले स्पष्ट पारेको छ।
यो विसं २०८२ को नेपालबाट देखिएको पहिलो ग्रहण हो। यसै वर्ष फाल्गुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्नेछ।


