काठमाडौँ । नेपालमा बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई छिमेकी मुलुक भारतले स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार साँझ मिडियाको प्रश्नको जवाफ दिँदै नेपाली नागरिकले उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा खुसी व्यक्त गरेका हुन्।
गत वर्षको असाधारण र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा भारतले प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा निर्वाचन प्रक्रियामा संलग्न सबै सरोकारवाला पक्षलाई बधाई दिएको छ।
प्रवक्ता जयसवालले नेपालको शान्ति, प्रगति र स्थिरताका लागि भारत सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल सरकारको अनुरोधमा यस निर्वाचनका लागि आवश्यक रणनीतिक तथा भौतिक सामग्रीहरू उपलब्ध गराएको जानकारी दिएका छन्।
छिमेकी मुलुकको नाताले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन भारतले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्तो सहकार्य जारी रहने उनले बताएका छन्।
निर्वाचनपछि गठन हुने नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न भारत इच्छुक रहेको उल्लेख गर्दै दुई देश र जनताबीचको मजबुत तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ नेतृत्वसँग सहकार्य गर्न प्रतीक्षारत रहेको पनि प्रवक्ता जयसवालले बताएका छन्।


