कञ्चनपुर — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले आगामी दुई वर्षभित्र सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भूमि आयोगका कामलाई जनशक्ति थपेर तीव्र बनाउने आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार अव्यवस्थित रूपमा बसोबास गरिरहेका नागरिकले तिर्दै आएका जग्गा शुल्कमा भारी कटौती गर्दै ८० प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा पनि कम गरिएको छ।
साथै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जोनापुर क्षेत्र हुँदै मझगाउँसम्मको प्रस्तावित पर्यटकीय मार्ग निर्माणको काम अगाडि बढाउन लागिएको जानकारी दिँदै उहाँले यस विषयमा सम्बन्धित निकायहरूसँग छलफल भइरहेको बताउनुभयो। “मार्गको सुरुवाती बिन्दुमा पर्ने स्याली नदीमा पुल निर्माण अपरिहार्य भएको छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले जङ्गली जनावरको आतंक नियन्त्रण गर्न मेसवायर जडान, सनवोरा र स्याली नदीमा तटबन्ध निर्माण तथा सनवोरा नदीमा पक्की पुल निर्माणको माग राख्दै ती मागहरू सम्बोधन गर्न पहल गरिदिन नेता साउदलाई आग्रह गरेका थिए।


