कथा धेरै पुरानो हो । कुनैबेला चन्द्रमालाई रूपको घमण्ड निकै थियो । यसो त आफैँमा उनी थिए सुन्दर नै । गोरो वर्ण, बाटुलो अनुहार, मिलेको शरीर यस्तैयस्तै । त्यसैले त कुनै सुन्दर व्यक्तिको उदाहरण दिनुप¥यो भने उनकै नाम लिने गरिन्थ्यो तर जति सुन्दर थिए त्यति नै थिए घमण्डी र अहङ्कारी पनि । आफूबाहेक सबै नराम्रो ठान्ने उनको बानी थियो । झन् कुनै नराम्रो मानिस देख्यो भने यति बढी उत्ताउलो बन्थे कि, कि गिज्याएर बसिनसक्नु बनाउँथे कि हाँसेर उडाउँथे । सुन्दरता अनुहारमा होइन स्वभावमा हुन्छ भन्ने उनलाई थाहा नभएको होइन । तैपनि उनी त्यतातिर ध्यानै दिँदैन थिए ।
‘बाबु चन्द्र ! दुखित देखिन्छौ नि ? भन के प¥यो त्यस्तो ?’
ब्रह्माजीको कुरा सुनेर चन्द्रमालाई सासै आए जस्तो भयो । उनले भावुक हुँदै भने–
‘ब्रह्मदेव ! हजुरले देख्नुभएकै छ कति बढी कुरूप भएको छु । देवीदेवता कोही पनि मेरो अघि पर्न चाहँदैनन् । मुख हेर्नसम्म पनि अशुभ ठान्छन् र परपर हुन्छन् । किन यस्तो भएँ ? न त्यसको कारण थाहा छ न यसबाट मुक्त हुने तरिका नै । त्यसैले हजुरको आराधना गरेको हुँ । मिल्छ भने पहिलेको जस्तै बनाइदिन आग्रह गर्छु । होइन मेरो भाग्य नै यस्तै हो भने बाँच्नुको अर्थ छैन । अहिले नै शरीर त्याग गरी संसारबाटै बिदा हुन चाहन्छु ।’
‘बाबु चन्द्र ! एकैचोटि यति बढी आत्तिनु राम्रो होइन । सान्त्वनाभरि वाक्यमा ब्रह्माजीले भने–
‘संसार कारण र कार्यको खेल हो । यसैले नै चलेको छ । कारणबिना न कार्य हुन्छ न कार्यबिना कारणकै जन्म हुन्छ । कारण भएपछि कार्य हुन्छ अनि सोही कार्य नै अर्को कार्यको कारण बन्छ । हो, तिमी यतिबेला समस्यामा परेका छौं तर यसको पनि समाधान नभएको होेइन, खोज्नुपर्छ भेटिन्छ । समाधान नभएको समस्या नै हुँदैन । यो बुझ समस्याभित्र नै समाधान पनि हुन्छ ।
तिमीलाई गौरीपुत्र गणेशको श्राप परेको छ । तिमीले गणेशको दर्शन गर्दा कुरूप ठानी हाँसेर गिज्याएका थियौ । त्यसैको फल पाएका हो ।
हाँस्नु नराम्रो होइन हाँस्नुपर्छ । स्वास्थ्यका लागि पनि हास्नु राम्रो हो तर त्यसको पनि तरिका र समय हुन्छ । त्यही खाना समय उपयुक्त भए अमृत बन्छ नभए बिष । यहाँ पनि भएको त्यस्तै हो । त्यतिबेला शुभ बेलामा अशुभ नहोस् भनेर अरू नबोलेका भए पनि गणेशजी चुप लाग्न सकेनन् र चाँडै रूपको घमण्ड समाप्त होस् भन्ने श्राप दिएका थिए, जुन कुरा तिमीले थाहा नपाएका भए पनि श्रापले थाहा नपाउने भन्ने हुँदैन । अब यसबाट छुट्कारा पाउन उनकै शरणमा जानुको विकल्प छैन । दयालु छन्, उपकारी छन्, पक्कै माफी दिनेछन् ।’
यति भनेर ब्रह्माजी अन्तरध्यान भए । चन्द्रमा गणेशको पूजा उपासनातिर लागे । नभन्दै उनको उपासनाबाट सन्तुष्ट भएका गणेशजीले आफैँ आएर भने–
‘चन्द्रदेव ! तिमीले जुन घमण्ड देखाएका थियौ त्यसैको फल पायौ । बुझ अब दुःखको दिन सकिए, भन के चाहन्छौ ?’
गणेशको कुरा सुनेर चन्द्रमाले माफी माग्दै पहिलेको जस्तै बनाइदिन आग्रह गरे । गणेशजीले पनि तथास्तु भन्दै पहिलेको जस्तै मात्र बनाएनन् जसले आजको दिन मेरो पूजा उपासना गर्नेछ उसको कल्याण हुनेछ भन्ने आशीर्वाद दिए ।
त्यो दिन भदौ महिनाको शुक्लपक्षको चतुर्थी तिथि परेको थियो, जुन तिथि तीजको भोलिपल्ट पर्छ । त्यसै बेलादेखि यो दिन गणेश चतुर्थीको नामले चिनिन थालेको हो र त्यसैको सम्झनामा मानिसहरूले गणेशको पूजा उपासना गर्ने गरेका हुन्, जुन अद्यावधि कायमै छ ।


