Friday, May 8, 2026
Homeराजनीतिनिर्वाचन परिणाम राष्ट्रपतिसमक्ष, राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतसँगै सरकार गठन प्रक्रिया सुरु

निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष, राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतसँगै सरकार गठन प्रक्रिया सुरु

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउँदै छ।

प्रतिवेदन बुझाएसँगै मुलुक नयाँ सरकार गठन प्रक्रियामा प्रवेश गर्नेछ। पहिलो हुने निर्वाचित (प्रत्यक्ष) प्रणालीतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइ अर्थात् १८२ सिट जितेको छ।

रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ। अन्य दलहरूमा नेपाली कांग्रेसले ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २५, नेपाल कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेका छन् भने एक स्वतन्त्र सांसद निर्वाचित भएका छन्।

नेपालको संविधानको धारा ७६ अनुसार बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। सोही अनुसार रास्वपाले आफ्ना वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको छ।

संवैधानिक व्यवस्थाअनुसार सांसदहरूले शपथ लिएपछि संसदीय दलको नेता चयन हुनेछ र त्यसपछि बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गरिनेछ। संवैधानिक कानुनका ज्ञाता खिमलाल देवकोटाका अनुसार यसपटक धारा ७६ (१) अन्तर्गत एकल बहुमत प्राप्त दलको सरकार बन्ने अवस्था रहेको छ।

संघीय संसद् सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद् अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले छिट्टै संसद् बैठक बोलाउनेछन्।

संसद्को पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ भने सात दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका