काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेलगत्तै प्रतिनिधिसभाको बैठक बोलाउने तयारी सुरु गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।
नेपालको संविधानको धारा ९३ अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
संविधानमा ३० दिनको समयावधि भए पनि विगतका अभ्यासअनुसार एक वा दुई हप्ताभित्रै संसद् बैठक बोलाइने गरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उनका अनुसार सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौं आउनका लागि करिब १० दिनको समय दिँदै संसद् बैठकका लागि सूचना जारी गर्छ। यसबीचमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिने र सोही सदस्यले अन्य सांसदलाई शपथ गराउने व्यवस्था रहेको छ।
सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने कानुनी प्रावधान रहेको प्रवक्ता गिरीले बताए। पहिलो बैठकले सभामुख निर्वाचनको मिति घोषणा गर्ने र सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न प्रत्येक दलबाट तीन–तीन जना सांसदको नाम अनुमोदन गर्ने प्रक्रिया पनि तय हुने उनले बताए।
निर्माणाधीन संसद् भवनका कारण वैकल्पिक हलमा बैठक
निर्माणाधीन संघीय संसद् भवन अझै सम्पन्न नभएकाले केही समयका लागि प्रतिनिधिसभाको बैठक अर्को प्रयोजनका लागि बनाइएको हलमा बस्ने तयारी भइरहेको छ। प्रवक्ता गिरीका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि निर्माणाधीन भवनको बीचमा रहेको हलमा बैठक सञ्चालनका लागि आवश्यक प्राविधिक व्यवस्थापनको काम भइरहेको छ।
सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी–सेक ज्वाइन्ट भेञ्चरबीच २०७६ असोज १६ गते भएको सम्झौताअनुसार संघीय संसद् भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो। तर कोरोना महामारीलगायत विभिन्न कारणले भवन निर्माण अझै पूरा हुन सकेको छैन।
करिब १५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्षसहित अन्य कार्यालय गरी १२ वटा भवन निर्माण हुनेछन्। भवन परिसरमा ३५० सिट क्षमताको संयुक्त लबी, विभिन्न संसदीय दलका कार्यालय, संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, क्यान्टिन तथा करिब ३९० वटा गाडी पार्किङको व्यवस्था हुने बताइएको छ।


