काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिने संकेत गरेका छन्।
सोमबार साँझ उपसभापति विश्वप्रकाश शर्मासँग नयाँ बानेश्वरमा भएको भेटवार्तामा थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिने बताएका हुन्।
स्रोतका अनुसार थापाले निर्वाचनको परिणामलाई गम्भीर रूपमा लिँदै नेतृत्वले जिम्मेवारी लिनुपर्ने धारणा राखेका थिए। “म सभापति पदबाट राजीनामा दिन्छु,” थापाको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अपेक्षाकृत कमजोर परिणाम व्यहोरेपछि थापाले त्यसको नैतिक जिम्मेवारी लिन आफूले पद त्याग गर्नु उचित हुने धारणा व्यक्त गरेका थिए।
यता उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। उनले निर्वाचन परिणामलाई केवल एक व्यक्तिको कमजोरीका रूपमा नभई समग्र राजनीतिक परिस्थितिको परिणामका रूपमा बुझ्नुपर्ने बताएका छन्।
शर्माले पार्टीको हारलाई सामूहिक रूपमा समीक्षा गर्नुपर्ने भन्दै अहिले भावनात्मक निर्णय नगर्न सभापति थापालाई आग्रह गरेका छन्।


