काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका सीके राउतदेखि निशा अधिकारीसम्मलाई निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा स्पष्टीकरण सोधेको छ।
आयोगले बुधबार उनीहरूलाई स्पष्टीकरण सोधेको हो। आयोगका अनुसार सप्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सीके राउतले सार्वजनिक स्थान (चौबाटो) मा आफ्नो निर्वाचन चिह्न र झण्डाको तोरण बनाई प्रदर्शन गरेको भन्ने उजुरी प्राप्त भएको छ। सो उजुरीका आधारमा उनलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।
त्यस्तै, गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ की उम्मेदवार निशा अधिकारीलाई पनि तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ। आयोगका अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरूलाई स्वयंसेवक आवेदन फाराम पठाई क्यूआर कोडमार्फत आफ्नो निर्वाचन अभियानलाई सहयोग गर्न आग्रह गरिएको भन्ने उजुरी प्राप्त भएको हो।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार खगेन्द्र सुनारलाई पनि आयोगले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी सूचना प्रवाह गरिएको भन्ने जानकारी प्राप्त भएपछि आयोगले उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत हो वा होइन भन्ने विषयमा स्पष्टीकरण माग गरेको जनाएको छ।
निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारेको छ।



