काठमाडौं। आगामी फागुन २१ गते निर्वाचन हुने घोषणा भएपछि मतदाता नामावली खुलाउन अध्यादेश ल्याउनेबारे छलफल भएको छ।
निर्वाचन आयोगले अध्यादेशमार्फत नामावली दर्ता खुलाउने विषयमा गृह मन्त्रालयसँग समन्वय गरिरहेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, “मतदाता नामावली दर्ता प्रक्रिया बन्द भएको छ। त्यसलाई खुलाउने प्रयोजनका लागि गृह मन्त्रालयसँग छलफल भइरहेको छ।”
मतदाता नामावली सम्बन्धी ऐन २०७३ को दफा ४ (२) अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनका लागि नयाँ मतदाता नाम दर्ता गर्न पाइँदैन। यसकारण निर्वाचन घोषणा भइसकेपछि दर्ता भएका मतदाताले मात्र मतदान गर्न पाउँछन्।
हालैको जेन–जी आन्दोलनमा सहभागी धेरै युवाको नाम मतदाता नामावलीमा नपरेको हुन सक्ने भएकाले उनीहरूलाई मतदान अधिकार दिन अध्यादेशमार्फत दर्ता प्रक्रिया खोल्ने तयारी भएको हो।
कहिलेसम्म दर्ता प्रक्रिया खुलाउने भन्नेबारे अध्यादेश जारी भएपछि मात्र निर्णय हुने आयोगले जनाएको छ। “अध्यादेश आएपछि आयोगले मिति तोक्नेछ,” भण्डारीले भने।
यसअघिका निर्वाचनमा मतदाता नामावलीमा नाम भए पनि परिचयपत्र नलिएका र निर्वाचन मिति अघिल्लो दिनसम्म १८ वर्ष पुगेकालाई समेत मतदान गर्न पाउने व्यवस्था मिलाइएको थियो। यसैगरी आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने र नागरिकता लिँदा मतदाता नामावलीमा नाम दर्ता गराइसकेका युवाहरूलाई पनि मतदान गर्न दिने तयारी छ।


