Wednesday, September 16, 2026
Homeसामाचारनिर्माणाधीन सर्वोच्च अदालत भवनमा फेरि आगलागी, तीन फाँटमा क्षति

निर्माणाधीन सर्वोच्च अदालत भवनमा फेरि आगलागी, तीन फाँटमा क्षति

काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। आज भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ।

आगलागी भएको जानकारी पाएलगत्तै प्रहरी तथा दमकलको टोली घटनास्थलमा पुगेको थियो। टोलीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा आगलागी विद्युतीय सर्ट सर्किटका कारण भएको हुन सक्ने अनुमान गरिएको छ।

निर्माणाधीन नयाँ भवनमा छोटो अवधिमै आगलागी भएको यो दोस्रो घटना हो। यसअघि भदौ १७ गते राति पनि सोही भवनको अभिलेख शाखामा आगलागी भएको थियो। त्यतिबेला अदालत प्रशासनले प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजात जलेको जनाएको थियो।

अघिल्लो घटनाको छानबिन प्रक्रिया जारी रहेकै अवस्थामा पुनः आगलागी भएपछि भवनको सुरक्षा व्यवस्था तथा विद्युतीय संरचनाबारे प्रश्न उठेको छ।

गत वर्ष भदौ २४ गते देशव्यापी ‘जेन–जी’ आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। त्यसपछि अदालतले दैनिक प्रशासनिक तथा न्यायिक कामकारबाही ‘एनेक्स’ भवनबाट सञ्चालन गर्दै आएको छ।

अदालतको कामकारबाही सहज बनाउन निर्माणाधीन नयाँ भवनको एक भागलाई अस्थायी रूपमा प्रयोगमा ल्याई इजलास तथा प्रशासनिक फाँटहरू त्यहाँ सारिएको थियो।

मुख्य भवनमा भएको क्षतिपछि अस्थायी संरचनाबाट सेवा प्रवाह भइरहेको अवस्थामा नयाँ भवनमै पटक–पटक आगलागी हुन थालेपछि अदालतका महत्त्वपूर्ण अभिलेख, उपकरण तथा भौतिक संरचनाको सुरक्षामा थप चुनौती देखिएको छ।

प्रहरीले आगलागीको विस्तृत कारण तथा घटनाबाट भएको क्षतिको विवरण संकलनका लागि अनुसन्धान अघि बढाएको छ। पछिल्लो घटनासँगै विद्युतीय संरचनाको अवस्था र अघिल्लो आगलागीपछि अपनाइएका सुरक्षा उपायबारे समेत थप छानबिन आवश्यक देखिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका