Wednesday, July 1, 2026
Homeसामाचारनिर्माणको अन्तिम चरणमा पुगेको तामाकोसी नदी माथिको पक्की पुल भाँचियो

निर्माणको अन्तिम चरणमा पुगेको तामाकोसी नदी माथिको पक्की पुल भाँचियो

रामेछाप: रामेछापको मन्थली नगरपालिका–६ र ७ जोड्ने तामाकोसी नदीमाथिको पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेकै बेला भाँचिएको छ। शुक्रबार अपराह्न ठेडिखोला नजिकको उक्त पुलको अन्तिम स्पानको ढलान सकिएको केही दिनमै संरचनामा चिरा परेपछि पुल भाँचिएको हो।

कुल २३० मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको उक्त पुलमा ४ वटा स्पान रहेका छन्। दुई स्पानको निर्माण पहिल्यै सकिएको थियो भने बाँकीमध्ये अन्तिम स्पानको मात्र हालै ढलान गरिएको थियो। तर, ढलान सम्पन्न भएको केही दिनमै संरचना चर्किनु र भाँचिनुले निर्माणको गुणस्तरमा गम्भीर प्रश्न उठाएको छ।

संघीय सरकारको सडक विभागअन्तर्गत पुल महाशाखामार्फत निर्माण भइरहेको उक्त पुल यो वर्षाको मौसम अघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो। तर, अन्तिम चरणमा आएर पुल भाँचिएपछि निर्माणकार्य अन्योलमा परेको छ।

२०७८ सालमा कालिका–कल्पवृक्ष जेभीले २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा (भ्याट र पिएस बाहेक) पुल निर्माणको ठेक्का पाएको थियो।

पुल भाँचिनुको स्पष्ट कारण अहिलेसम्म खुलेको छैन। निर्माण कम्पनीले विज्ञ टोलीमार्फत घटनास्थलको प्राविधिक परीक्षण गराउने बताएको छ। परीक्षणपछि पुललाई पूर्णरूपमा पुनर्निर्माण गर्नु पर्ने वा मर्मतसम्भारबाटै प्रयोगमा ल्याउन सकिने भन्नेबारे निर्णय हुने बताइएको छ।

उक्त पुल रामेछापबाट खाँडादेवी गाउँपालिका हुँदै काठमाडौँ पुग्ने सबैभन्दा छोटो मार्गमा पर्ने महत्त्वपूर्ण संरचना हो। साथै, मन्थलीबाट खाँडादेवी, दोरम्बा, र सुनापति गाउँपालिका पुग्न पनि यो पुल प्रयोग गर्नाले दूरी कम पर्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका