काठमाडौं। नेपाली कांग्रेसले पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोसँग सम्बन्धित घटनापछि सम्पर्कविहीन रहेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) को सकुशल खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत, साधन र संयन्त्र परिचालन गर्न आग्रह गरेको छ।
शुक्रबार महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा विश्व पर्वतारोहण क्षेत्रमा नेपालको गौरवलाई अभूतपूर्व उचाइमा पुर्याएका पुर्जा सम्पर्कविहीन भएको समाचारले पार्टी गम्भीर रूपमा चिन्तित र मर्माहत भएको उल्लेख गरिएको छ।
कांग्रेसले पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेको तथा उनकै नेतृत्वमा नेपाली टोलीले विश्वकै दोस्रो अग्लो हिमाल के–टु (K2) को इतिहासकै पहिलो सफल शीतकालीन आरोहण सम्पन्न गरेर नेपालको पर्वतारोहण इतिहासमा स्वर्णिम अध्याय थपेको स्मरण गरेको छ।
विज्ञप्तिमा पुर्जाको पुस्तक Beyond Possible तथा उनीमाथि निर्माण गरिएको नेटफ्लिक्स वृत्तचित्र 14 Peaks: Nothing Is Impossible ले नेपालको पर्वतारोहण परम्परा, नेपाली पर्वतारोहीहरूको क्षमता र राष्ट्रिय गौरवलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
कांग्रेसले व्यवसायी, उद्धारकर्मी तथा सामाजिक अभियन्ताका रूपमा पुर्जाले पर्यटन प्रवर्द्धन, हिमाली समुदायको उत्थान, वातावरण संरक्षण तथा मानवीय सेवामा पुर्याएको योगदानको पनि प्रशंसा गरेको छ। विज्ञप्तिमा निर्मल पुर्जा कुनै एक व्यक्तिको नाम मात्र नभई नेपालको साहस, आत्मविश्वास, अदम्य इच्छाशक्ति, अनुशासन, नेतृत्व क्षमता र राष्ट्रिय गौरवको सशक्त प्रतीक भएको उल्लेख गरिएको छ।
यस संवेदनशील परिस्थितिमा खोज तथा उद्धारमा संलग्न सम्पूर्ण टोलीको सफलताको कामना गर्दै कांग्रेसले पाकिस्तान सरकार, सम्बन्धित सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय उद्धार संयन्त्रलाई उपलब्ध सबै स्रोत, साधन, प्रविधि र विशेषज्ञ जनशक्ति परिचालन गरी खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेको छ।
साथै, नेपाल सरकारलाई पाकिस्तान सरकार, नेपाली दूतावास तथा सम्बन्धित अन्तर्राष्ट्रिय निकायसँग उच्चस्तरीय कूटनीतिक समन्वय गर्दै आवश्यक सहयोग, सूचना आदानप्रदान र उद्धार प्रयासमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ। आवश्यक परे नेपाली पर्वतारोहण विज्ञ तथा उद्धार विशेषज्ञहरूको टोली परिचालन गर्ने सम्भावनाबारे समेत गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक पहल गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।


