Sunday, November 8, 2026
Homeसामाचार"निजामती सेवामा प्रविधिमैत्री र नागरिक केन्द्रित सुधारको आवश्यकता : मन्त्री न्यौपाने"

“निजामती सेवामा प्रविधिमैत्री र नागरिक केन्द्रित सुधारको आवश्यकता : मन्त्री न्यौपाने”

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगतवी न्यौपानेले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत छिटो, सरल र पारदर्शी सेवा दिन अपरिहार्य भएको बताएकी छिन् ।

२२ औं निजामती सेवा दिवस–२०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्व तीव्र गतिमा रूपान्तरण भइरहेको वर्तमान समयमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा र नवप्रवर्तनशील उपायहरूको उपयोग गरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।

उनका अनुसार व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न सक्दैन । उनले निजामती सेवाले सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका साथै यसको कार्यान्वयन, सेवा प्रवाह र विकास व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गराइन् ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य हुन्छ,’ मन्त्री न्यौपानेले भनिन्, ‘त्यसैले निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल र पारदर्शी सेवा दिनु आजको अनिवार्य आवश्यकता हो ।’

उनले निजामती सेवामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता, निरन्तर सिकाइ र सुधारका माध्यमबाट नागरिकको विश्वास जित्न सकिने विश्वास व्यक्त गरिन् । साथै, ‘राज्यप्रति जिम्मेवार, सदाचारयुक्त, परिणाममुखी र सिर्जनशील प्रशासनिक संरचना निर्माण गर्नु अहिलेको आवश्यकता हो,’ उनले जोड दिइन् ।

मन्त्री न्यौपानेले निजामती सेवा दिवसले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई देश र जनताको सेवा गर्न थप प्रोत्साहित गर्ने विश्वास गर्दै शुभकामना व्यक्त गरिन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका