Sunday, November 8, 2026
Homeसामाचारनारायणगढ–मुग्लिन सडक सञ्चालन अनिश्चित, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नारायणगढ–मुग्लिन सडक सञ्चालन अनिश्चित, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक निरन्तर पहिरो खसिरहेकाले सडक सञ्चालन अनिश्चित बनेको छ। ३६ घण्टादेखि अवरुद्ध रहेको सडक खण्डमा आज बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भए पनि माथिबाट फेरि पहिरो खसिरहेकाले काममा कठिनाइ भएको हो।

डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण परिचालन गरिएको छ। तर रातमा काम गर्न कठिन भएकाले शनिबार साँझदेखि आइतबार बिहानसम्म काम रोकिएको थियो।

करिब ७० मिटरमाथिबाट खसेको पहिरोले १६ मिटर उचाइ र १० मिटर चौडाइमा फैलिँदै १६० मिटर सडक ढाकेको छ।

यस कारण शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्। दैनिक १० हजारभन्दा बढी सवारीसाधन चल्ने यो सडक अवरुद्ध भएपछि वैकल्पिक बाटो प्रयोग गर्न सडक डिभिजन भरतपुरले आग्रह गरेको छ।

वैकल्पिक बाटोका रूपमा नौबिसे–दामन–हेटौँडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) प्रयोग गर्न सकिने बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका