Saturday, November 7, 2026
Homeसामाचारनागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (सिएएएएन) का महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन निर्देशक मुरानी भण्डारी सहित ६ जनामाथि नलिञ्चोक हेलिपोर्ट निर्माणमा भएको अनियमितता प्रकरणमा भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा ठूलो हानी–नोक्सानी पुर्‍याएर बदनियतपूर्वक योजना अघि बढाइएको निष्कर्ष निकालेपछि उनीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

आयोगका अनुसार परामर्शदाता छनोटदेखि अध्ययन प्रतिवेदन तयार गर्ने प्रक्रियासम्मकै चरणमा व्यापक नियम उल्लंघन र मिलेमतो भएको पाइएको छ। सोही क्रममा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बराबरको हानी हुने गरी भ्रष्टाचार भएको दाबी आरोपपत्रमा उल्लेख छ।

आरोप लागेकामध्ये महानिर्देशक अधिकारी, मुरारी भण्डारी, नल विक्रम थापा, समृद्धि श्रेष्ठ, गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ प्रालिका व्यवस्थापक विजय थापा रहेका छन्।

आयोगले हेलिपोर्ट निर्माणका लागि आवश्यक पर्ने सम्भाव्यता अध्ययन नै नगरी प्रक्रिया अघि बढाइएको, कानूनी स्वीकृति नलिई प्राविधिक तथा वित्तीय प्रस्ताव माग गरिएको, अनुभवहीन परामर्शदाता फर्मलाई मिलेमतोमा छानिएको र विस्तृत परियोजना प्रतिवेदन पूर्ण नबनाई खरिद प्रक्रिया अघि बढाइएको प्रमाणित भएको जनाएको छ।

त्यस्तै, संवेदनशील संरचना मानिने हेलिपोर्ट निर्माणमा वातावरणीय प्रभाव मूल्यांकन (EIA) तथा सरकारी पूर्वस्वीकृति अनिवार्य हुँदाहुँदै पनि कुनै अनुमति नलिइएको आयोगको निष्कर्ष छ।

अख्तियारले सबै प्रतिवादीविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी, बदनियतपूर्ण निर्णय, नियम उल्लंघन तथा मिलेमतोद्वारा भ्रष्टाचार गरेको आरोपमा कारबाहीको माग गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका