Friday, October 30, 2026
Homeराजनीतिनवलपरासी–१ मा कांग्रेसको चुनावी अभियान तीव्र, विनोद चौधरीको नेतृत्वमा ५५५ सदस्यीय प्रचार...

नवलपरासी–१ मा कांग्रेसको चुनावी अभियान तीव्र, विनोद चौधरीको नेतृत्वमा ५५५ सदस्यीय प्रचार समिति गठन

नवलपरासी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ। कांग्रेसले यस क्षेत्रबाट विनोद चौधरीलाई उम्मेदवार बनाएको छ।

सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलामार्फत निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने उद्देश्यसहित क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ। साथै, क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय क्षेत्रीय चुनाव प्रचार–प्रसार समिति गठन गरिएको छ।

समितिले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ गर्दै घरदैलो अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। क्षेत्रीय समिति मातहत प्रत्येक वडा र टोलमा समेत उपसमितिहरू गठन गरिने जनाइएको छ।

उम्मेदवार विनोद चौधरीले विगत तीन वर्षमा क्षेत्रको विकासका लागि तयार गरिएको आधार र आगामी योजनाहरू जनतामाझ पुर्‍याउने तयारी भइरहेको बताए।
‘हामी केवल चुनाव जित्नका लागि मात्र होइन, नवलपरासीको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा उत्रिएका हौँ। हरेक कार्यकर्ताले आफूलाई उम्मेदवार ठानेर जनताको घरदैलोमा पुग्नुपर्छ,’ समितिका संयोजक आचार्यले भने।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक, प्रदेश सांसद विश्वप्रेम पाठक, कांग्रेस कावा सभापति विक्रम यादव, उपाध्यक्ष अनिल गौण, सचिव उमेश यादव, कुलदीप आचार्यलगायत नेताहरूले विनोद चौधरी जस्तो उम्मेदवार पाउनु नवलपरासीका लागि गौरवको विषय भएको बताए।

यसअघि २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित चौधरी यस पटक पुनः भारी मतका साथ विजयी हुने लक्ष्यसहित चुनावी मैदानमा सक्रिय भएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका