काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न सबै नेपालीलाई एकजुट हुन आह्वान गरेका छन्। नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन्।
शुभकामना सन्देशमा उनले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको संरक्षण र सुदृढीकरणका लागि सबैको दृढ संकल्प आवश्यक रहेको उल्लेख गरेका छन्। “नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै भविष्यका चुनौतीहरू सामना गर्न हामी एकताबद्ध हुनुपर्छ,” उनले भनेका छन्, “नवीन अवसरहरूको सदुपयोग गर्दै सुशासन र आर्थिक विकासको मार्गमा दृढतापूर्वक अघि बढ्ने यो महत्त्वपूर्ण घडी हो।”
थापाले शान्त, सभ्य र समृद्ध राष्ट्र निर्माणको अभियान सफल बनाउन राजनीतिक दलहरू र जिम्मेवार निकायहरूलाई दलगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरेका छन्। मुलुक, नागरिक र लोकतन्त्रको हितका लागि सहकार्य र एकताको विकल्प नभएकोमा उनले जोड दिएका छन्।
नयाँ वर्षले नेपालीहरूबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा सुदृढ बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
सन्देशको अन्त्यमा उनले नयाँ वर्षले आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन सबैमा नयाँ ऊर्जा र उत्साह प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।


