वीरगञ्ज (पर्सा), २६ साउन — पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४४ मुद्दा फछ्र्योट गरेको छ। अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएका गरी कूल १२ हजार ६ सय ३५ मुद्दामध्ये ५७.३३ प्रतिशत मुद्दा समाधान भएको हो।
न्यायाधीश दीपक खनालका अनुसार अघिल्लो वर्षको तुलनामा फछ्र्योट प्रतिशतमा वृद्धि भएको छ। “गत आवमा ५७ प्रतिशत मुद्दा फछ्र्योट भएको थियो। यो प्रगति सकारात्मक देखिन्छ,” उहाँले बताउनुभयो, “यसमा अदालतसँगै अन्य सरोकारवालाको पनि महत्वपूर्ण भूमिका रहन्छ।”
गत आवमा अघिल्लो वर्षबाट सरेका मुद्दा ६,०९२ थिए भने नयाँ दर्ता ६,५४३ पुगेका थिए। अदालतमा १८ महिना नाघेका ३६७ र दुई वर्ष नाघेका ३३४ मुद्दा बाँकी छन्। न्यायाधीश नन्दकिशोरप्रसाद यादवका अनुसार अदालतले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजना अनुसार काम गरिरहेको छ।
चालु आवमा अघिल्लो वर्षबाट सरेका र नयाँ दर्ता हुने गरी १३ हजार ४६८ मुद्दा दर्ता हुने लक्ष्य छ। तीमध्ये ६६ प्रतिशत अर्थात् ८ हजार ८३७ मुद्दा फछ्र्योट गर्ने योजना बनाइएको छ। अदालतका श्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार वार्षिक कार्ययोजना अनुसार नै मुद्दा समाधान अघि बढाइनेछ।
अदालतमा हाल ११ न्यायाधीश कार्यरत छन्। गत आवमा सबैभन्दा धेरै मुद्दा फछ्र्योट गर्नेमा न्यायाधीश माधवप्रसाद घिमिरे रहे, जसले ९८३ मुद्दा समाधान गर्नुभयो। उहाँलाई आइतबार दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
अन्य न्यायाधीशहरूको फछ्र्योट विवरण यसप्रकार छः
दीपक खनाल — ९३९ मुद्दा
नन्दकिशोरप्रसाद यादव — ७६२ मुद्दा
आनन्दप्रसाद श्रेष्ठ — ६३० मुद्दा
प्रमेश पोखरेल — ६०५ मुद्दा
उत्तम सिलवाल (काठमाडौँ र पर्सा) — ६२४ मुद्दा
उपेन्द्रकेशर खनाल (सिरहा र पर्सा) — ६५७ मुद्दा
मोहन सुवेदी — ५८४ मुद्दा
मुकुन्द आचार्य — ५३८ मुद्दा
कमलकान्त जोशी — ५६६ मुद्दा
रुद्रप्रसाद सुवेदी — ५०१ मुद्दा
गत आवमा अदालतले ९५६ वर्ष ३ महिना १ दिन कैद बराबरको जरिवाना फछ्र्योट गरेको छ। अघिल्लो आवसम्म ३,५५८ वर्ष ११ महिना ६ दिन कैद बराबरको लगत बाँकी थियो। गत आवभरि प्रति न्यायाधीश ८४३ मुद्दा समाधान गर्ने लक्ष्य तोकिएको थियो।
न्यायाधीश खनालका अनुसार अदालतले न्याय सम्पादन गर्दा प्रक्रिया र कार्यविधिलाई आधार मानेर नै फैसला गर्ने गर्छ।


