Sunday, November 8, 2026
Homeसामाचारधान दिवसमा उपाध्यक्ष घिमिरेको आह्वान: “जमिन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी कृषि...

धान दिवसमा उपाध्यक्ष घिमिरेको आह्वान: “जमिन बाँझो राख्ने प्रवृत्ति अन्त्य गरी कृषि आत्मनिर्भरता हासिल गरौँ”

काठमाडौँ, १५ असार:राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै श्रमशील संस्कृतिको विकास र धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

२२औँ राष्ट्रिय धान दिवसको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उपाध्यक्ष घिमिरेले भनेकी छन्, “हाम्रो श्रमशक्ति वैदेशिक अध्ययन र रोजगारीका लागि दैनिक सयौँको संख्यामा विदेश पलायन हुनु दुःखद् विषय हो। यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा जनशक्तिको अभावको रूपमा देखिएको छ।”

उनले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँदै, त्यसबाट स्वरोजगारका अवसर सिर्जना हुने, खाद्य सुरक्षा सुनिश्चित हुने र नागरिकको स्वास्थ्यमा सकारात्मक असर पर्ने विश्वास व्यक्त गरिन्।

उपाध्यक्ष घिमिरेले व्यवसायिक कृषि फार्मको प्रवर्द्धनका लागि जग्गाको चक्लाबन्दीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखिन्। यसमार्फत कृषिजन्य वस्तुको बढ्दो आयात प्रतिस्थापन गर्न सकिने र युवा विदेश पलायन पनि रोक्न सकिने उनको भनाइ थियो।

उनले जलवायुमैत्री प्रविधिको प्रयोग गरी धान उत्पादनमा वृद्धि गर्न, धानचामलको आयात घटाउन, खाद्य सुरक्षाको ग्यारेन्टी गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जोड दिइन्।

यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ मुलुकभर २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् २००४ (वि.सं. २०६१) लाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपाल सरकारले २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो।

असार १५ नेपाली समाजमा ‘दही–चिउरा खाने दिन’ को रूपमा समेत लोकप्रिय छ। खेतीपातीमा संलग्न मात्र होइन, अन्य पेसा–व्यवसायमा लागेकाहरू समेत आज दही–चिउरा खाई परम्परागत शैलीमा दिवस मनाउने गर्छन्।

नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। खाद्य वस्तुको अभावमा जीवन जोखिममा नपर्ने ग्यारेन्टी समेत संविधानमै गरिएको उल्लेख गर्दै उपाध्यक्ष घिमिरेले राष्ट्रिय लक्ष्य हासिल गर्न आजको दिनले थप उत्साह र प्रेरणा दिने विश्वास व्यक्त गरिन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका