Saturday, November 7, 2026
Homeसामाचारदैलेखका वरिष्ठ लेखा अधिकृतविरुद्ध घुस प्रकरणमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा

दैलेखका वरिष्ठ लेखा अधिकृतविरुद्ध घुस प्रकरणमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्की विरुद्ध विशेष अदालतमा बिहीबार आरोपपत्र दायर गरेको छ।

कार्कीलाई डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग रु एक लाख घुस लिँदालिँदै नियन्त्रणमा लिइएको थियो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्कीले डुङ्गेश्वर गाउँपालिका–१, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक–देउली–जडी सडक योजनाको अन्तिम बिल भुक्तानी गर्न सेवाग्राहीसँग घुस मागी लिएको प्रमाणित भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो।

अख्तियारका अनुसार, कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा बिगो रु एक लाख कायम गरी सोही ऐनको दफा ३(१)(ख) अनुसार कैद सजाय र सोही बिगोबमोजिम जरिवाना मागदाबी गरिएको छ।

मुद्दा दायरसँगै अख्तियारले सार्वजनिक पदमा आसीन व्यक्तिबाट घुस, अनियमितता र अख्तियारको दुरुपयोगमा संलग्न जो कोहीमाथि कडाइका साथ कारबाही जारी रहने जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका