ढाका : बंगलादेशमा विरोध प्रदर्शनबाट सुरु भएको आन्दोलन हिँसामा परिणत हुँदा देश छोड्न बाध्य भएकी शेख हसिनाको यतिबेला बङ्गलादेशमा फिर्तीको माग राख्दै प्रदर्शन सुरु भएको छ।
यतिबेला त्यहाँ असुरक्षा चुलिएको छ । सरकार, सर्वसाधारण, सरकारी अधिकारी, न्यायाधीश र सेना कोही पनि सुरक्षित छैनन् । पछिल्लो दिन त्यहाँ जारी हिंसा अनियन्त्रित बन्दै गएपछि असुरक्षाको स्थिति चुलिएको हो।
यसैबीच सेनाको जवानमाथिसमेत हमला भएको छ । गोपालगञ्ज क्षेत्रमा सेनाको गाडीमा हमला भएको छ । ढाका ट्रिब्यूनमा छापिएको समाचारअनुसार यस घटनामा सेनाका जवान, पत्रकार र स्थानीयसमेत १५ जान घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनालाई गोली लागेको बताइएको छ । यस घटनामा एक बच्चासहित दुई जनालाई गोली लागेको छ । घटनामा कसैको मृत्यु भने भएको छैन । यो घटना शनिबार साँझको भएको बताइएको छ । आवामी लिगका नेता, कार्यकर्ता र उनका समर्थकहरूले शेख हसिनाको स्वदेश फिर्तीको माग गर्दै ढाकामा सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका थिए ।
सेनाका जवानले सडक खुलाउन अनुरोध गरेपछि प्रदर्शनकारीहरूको भिडले उनीहरूमाथि ढुंगा, इट्टा फ्याक्न सुरु गरे । भिडलाई तितरबितर पार्न सेनाका जवानले पछि लाठीचार्ज गरेको थियो । यसको जवाफमा प्रदर्शनकारीहरूले सेनाको गाडीमा तोडफोड गरेर आगो लगाइदिए ।


