Monday, September 14, 2026
Homeसामाचारदेवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन एक महिनादेखि कार्यान्वयनविहीन

देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन एक महिनादेखि कार्यान्वयनविहीन

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाबारे छानबिन गर्न गठित दुई समितिले प्रतिवेदन बुझाएको करिब एक महिना भए पनि त्यसको कार्यान्वयन भएको छैन। प्रतिवेदन सार्वजनिकसमेत गरिएको छैन।

दुवै समितिले भदौ २ गते गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएका थिए। गृह मन्त्रालयका अधिकारीहरूले भने प्रतिवेदन अध्ययनकै क्रममा रहेको बताएका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीचको विवादपछि साउन १० गते भएको झडपमा तीन जनाको मृत्यु भएको थियो। त्यसको प्रभाव सिरहामा समेत परेको थियो। साउन १४ गते सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। सरकारले दुवै घटनामा मृत्यु भएका व्यक्तिलाई सहिद घोषणा गरिसकेको छ।

कप्तानगञ्ज घटनामा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताको मृत्यु भएको थियो। छानबिन समितिले उनीहरूको मृत्यु सुरक्षाकर्मीले चलाएको गोली लागेर भएको निष्कर्ष निकालेको छ।

कप्तानगञ्ज घटनाबारे सहसचिव भूपेन्द्र थापा र गोलबजार घटनाबारे सहसचिव पुष्पराज शाहीको नेतृत्वमा छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको थियो। दुवै समितिले सुरक्षाकर्मीको गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकाल्दै सम्बन्धित सुरक्षा कमान्डर तथा प्रमुख जिल्ला अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेका छन्।

कप्तानगञ्ज घटनामा तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन प्रहरी निरीक्षक राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई कारबाही गर्न सिफारिस गरिएको छ।

त्यस्तै, गोलबजार घटनामा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक बासु पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन प्रहरी निरीक्षक सुदन केसीलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ। पौडेल र केसीलाई घटनापछि सम्बन्धित स्थानबाट सरुवा गरिएको थियो।

समितिले कारबाहीको प्रकृति भने तोकेको छैन।

सुरक्षाकर्मीबाटै गोली चलेको निष्कर्ष

छानबिन प्रतिवेदनअनुसार गोलबजारमा प्रहरीले सात राउन्ड हवाई फायर र प्रदर्शनकारीतर्फ दुई राउन्ड गोली चलाएको थियो। त्यहाँ गणेश यादवको मृत्यु प्रहरीको गोली लागेर भएको निष्कर्ष निकालिएको छ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गोलबजारमा सात राउन्ड ‘डमी राउन्ड’ र पेस्तोलबाट दुई राउन्ड गोली चलेको देखिएको छ। छानबिनले प्रहरी निरीक्षक सुदन केसीले बोकेको पेस्तोलबाट गोली चलेको निष्कर्ष निकालेको छ।

कप्तानगञ्जमा भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको समितिको निष्कर्ष छ। घटनास्थलमा कुल २० राउन्ड गोली चलेको पाइएको छ।

झडप नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जका तत्कालीन प्रहरी निरीक्षक राकेश राई र प्रहरी चौकी कप्तानगञ्जका असई प्रकाशकुमार श्रेष्ठ परिचालित थिए। दुवै समुदायका व्यक्तिले चिर्पट, ढुङ्गा, बाँस र लाठीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

छानबिनका क्रममा प्रहरी निरीक्षक राईले गोली चलाएको र त्यसपछि सशस्त्र प्रहरीले समेत गोली चलाएको पाइएको छ।

दुवै घटनापछि भिडबाट समेत गोली चलेको हल्ला फैलिएको थियो। तर, छानबिन समितिले सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिबाट गोली चलेको प्रमाण नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका