काठमाडौँ, २ माघ — हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ।
आज कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, आज राति पनि तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ। रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा अन्य भू–भागमा मौसम प्रायः सफा रहनेछ।
महाशाखाले हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।


